विनोद महतो, धनुषा : ‘नो मोर लिमिट’ मूल नाराका साथ धनुषामा पनि विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । यो दिवस धनुषामा समेत विविध जनचेतना मूलक कार्यक्रम गरी मनाइएको हो । ‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी, महिनावारी नियमित प्रक्रिया हो, यो लाजको हैन गर्वको विषय हो, महिनावारी सम्बन्धी गलत धारणा र अभ्यासलाई अन्त्य गरौं, सधैं सफा र सुरक्षित प्याडको मात्र प्रयोग गरौं’ जस्ता विभिन्न चेतनामूलक नारा सहित महिनावारी स्वच्छता दिवस मनाइएको छ ।
धनुषामा सरसफाइ तथा स्वच्छताको क्षेत्रमा सक्रिय संघसंस्थाहरुले दिवसको अवसरमा महिनावारी स्वच्छता, प्याडको प्रयोग, महिनावारीको चक्र, समाजको दृष्टिकोण, व्यक्तिगत सरसफाइ लगायत विषयमा अन्तरक्रिया, भिडियो शो, रैली, गोष्ठी लगायतको विविध कार्यक्रम गरेको छ । यसै क्रममा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजमा मावि स्तरका विद्यालयका छात्राहरुसँग सँग अन्तरक्रिया र भिडियो शो गरिएको छ ।
नक्टाझिजको जनता उच्च माविका कक्षा ७ देखि कक्षा १२ सम्म र रामजानकी विद्या आश्रम स्कुलका कक्षा ५ देखि कक्षा ८ सम्मको छात्राहरुलाई महिनावारी स्वच्छता सम्बन्धी जनचेतना मूलक भिडियोहरु देखाउँदै अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजका वडा अध्यक्ष विहारी महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा यूएन ह्याविट्याटको धनुषा संयोजक उमा सिम्खडा, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो, समाज विकास पथ (सोडेप)का वास अफिसर विनोद कुमार महतो, सत्यदेव कापर, क्लवका रामचन्द्र महतो लगायतले सहजीरकण गर्नुभएको थियो । वडा कार्यालयको सभाहल र रामजानकी विद्या आश्रममा गरिएको सो छुट्टा छुट्टै दुवै कार्यक्रममा करिव २ सय छात्राहरुको उपस्थिति रहेको थियो ।
यता दिवसकै अवसरमा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नं.४ खजुरीचन्हाको महरा टोल र कमला नगरपालिका वडा नंं. ५ लक्कडको मुसहर टोलमा महिनावारी स्वच्छता सम्बन्धी महिलाहरुसँग छलफल गरिएको छ । सो कार्यक्रममा समाज उत्थान युवा केन्द्र (सुयुक) का कार्यक्रम संयोजक अर्जून दहाल र वास अधिकृत सजीत कुमार मण्डलले महिनावारी सरसफाइ सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । यता प्याक नेपालले समेत आफ्नो कार्य क्षेत्रमा विविध कार्यक्रम गरी महिनावारी स्वच्छता दिवस मनाएको कार्यक्रम संयोजक संजिव सिंहले बताउनुभएको छ ।
अंग्रेजी महिनाको यो पाँचौ महिना ‘मे’ मा संसारभरी नै ‘स्वस्थ महिनावारी’ अधिकारको महिनाका रुपमा मनाइरहेको छ । नेपालले पनि सन् २०१४ देखि महिनावारी दिवस मनाउन थालेको छ । महिलाहरुमा महिनावारी हुँदा रगत बग्ने दिनलाई सालाखाला मिलाएर पाँच दिन हुने भएकोले पाँचौ महिना लिएको हो भने, संसारभरिका महिलाहरुको महिनावारी चक्र सालाखाला २८ दिनको हुने भएकोले मे २८ तारिखलाई दिवसको रुपमा मानिएको हो ।
सन् २०१४ मा संयुक्त राष्ट्र संघले लैंगिक समानता हासिल गर्न महिनावारी बार्ने कारण एक मुख्य बाधक हो भनेर घोषणा गरेपछि विश्व विकासको इतिहासमा महिनावारी दिवसले ठाउँ पाएको छ । अर्थात् प्राकृतिक रुपमा प्राप्त महिनावारी जुन संसार भरिकै महिलाहरुले अनुभव गर्छन् र जन्मेदेखि मर्ने वेलासम्म यसको प्राकृतिक प्रभाव र सामाजिक मूल्य मान्यता भए पनि लामो समयको अन्तरालमा मात्र महिनावारीलाई एक सवाल र बहसको रुपमा हेर्न थालिएको सरोकारवाला बताउँछन् ।


1151 पटक हेरिएको 

