भक्तपुर : भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले वातावरण प्रदुषण बढेको छ । भक्तपुरमा सञ्चालित ६२ वटा इँटाभट्टाबाट निस्केको कालो धुवाँले सास फेर्न समेत नसक्ने र तरकारी लगायत नगदे बालीको उत्पादन समेत घटेको चाँगुनारायण नगरपालिका झौखेलका राजाराम श्रेष्ठले बताउनुभयो । तरकारीको पात तथा काउलीमा पनि कालो तह जमेकाले उत्पादित तरकारीले समेत बजार नपाएको श्रेष्ठले बताउनुभयो ।
‘धोएर सुकाएको सेता लुगा पनि बेलुकी टिप्ने बेला कालो हुन्छ, घरको छानो लगायत कालो हुन बाँकी केही छैन’ उहाँले भन्नुभयो । भूकम्प अघि चिम्नी अग्लो हुँदा प्रदुषण केही कम भए पनि भूकम्पपछि भत्किएका सबै इँटाभट्टाको चिम्नी होचो भएपछि कालो धुँवा जमिनको सतहमै फैलिएकाले वायु प्रदुषण बढेको सूर्यविनायक नगरपालिका सिपाडोलका अर्जुन कार्कीले बताउनुभयो । ‘समथर जग्गामा इँटाभट्टा सञ्चालन भएका छन् ।
भट्टाको धुवाँ गाउँभरि फैलिन्छ, बिहान उठ्ने वित्तिकै कोइलाको गन्ध लिएर श्वास फेर्नुपर्छ, घरको छानोदेखि लुगा पनि कालो भएका छन्’ सूर्यविनायक नगरपालिका चित्तपोलका सुमन थापाले भन्नुभयो ।
भक्तपुर जिल्ला अस्पतालका अनुसार धुवाँकै कारण दमको बिरामी बढेका छन् । अस्पतालमा छाती दुख्ने, दम बढ्ने, नियमित खोकी लाग्ने, टाउँको दुख्ने जस्ता निकोटिनका कारणबाट देखिने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ । भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले घरेलुमा दर्ता भएर नियम सङ्गत रुपमा सञ्चालित इँटाभट्टाले कालो धुवाँ नफाल्ने दाबी गर्नुभयो ।
अवैध रुपमा सञ्चालित केही इँटाभट्टाले मापदण्ड पूरा नगर्दा कालो धुँवा फालेको हुनसक्ने अरु इँटाभट्टाले कालो धुँवालाई प्रशोधन गरेर फाल्ने प्रविधि समेत जडान गरेकाले समस्या नआउने बताउनुभयो ।


617 पटक हेरिएको 

