प्रसन्न तामाङ, काठमाडौ २५ जेठ । कालिकोट राँचुलीकी बेलस्पूरा शाहीको मुहारमा अहिले उज्यालो छाएको छ । महिनावारी भएको समयमा पनि घर छोड्नु नपरेपछि कालिकोट राँचुलीका महिलाले जीवनकै फरक अनुभूति गर्न थालेका छन् ।
हेर्नुहोस् यो भिडियो :
झण्डै बर्षदिन पहिलेसम्म महिनावारी भएको समयमा छाउगोठमा बस्नुपर्ने बाध्यता झेल्दै आएका महिलाले घरमै बस्न थालेपछि शारीरिक रुपमा तन्दुरुस्त, फुर्तिलो र पुरुष समान हैसियत भएको अनुभुत गर्न थालेका हुन् । ‘पहिले गोठमा बस्दा कीरा, झिंगाका कारण सुत्नै पाइदैन थियो, अहिले घरमै बस्न पाएपछि कीराको डर पनि हुँदैन । आनन्दले सुत्न पाइन्छ’ राँचुलीकी काली शाहीले भन्नुभयो ।

गोठमा बस्दा तागतिलो खानेकुरा खान नपाउने, सरसफाइको कमी आदि कारणले शारीरिक रुपमा अति नै कमजोर भएको विगतको अनुभव छ उनीहरुको । ‘हामीले त धेरै दुःख झेल्यौं, तर अब हाम्रा छोरी बुहारीले यस्तो दुःख गर्नु नपर्ने भयो’ राँचुलीकी बेलस्पूरा शाहीले भन्नुभयो ।
छाउपडी प्रथा अन्धविश्वास र कुरीति हो भन्ने थाहा पाएपछि राँचुलीका महिला आफैले छाउपडी प्रथा त्याग्न थालेका हुन् । विभिन्न गैरसरकारी संस्थाको प्रयासबाट आफूहरुले छाउपडी प्रथा त्यागेको र अहिले दिन दिनै सफा सुग्घर गर्न थालेको उनीहरु बताउँछन् ।


749 पटक हेरिएको 

