मुगुको माथितुम गाउँ छाउगोठमुक्त घोषणा

  सञ्जु तिमिल्सिना  785 पटक हेरिएको

मुगु : छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ माथितुम वस्तीलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ । ३ नं. वडा कार्यालयको आयोजना तथा हिरिसडेक को सहजीकरणमा ५७ घरपरिवार रहेको माथितुम वस्तीलाई मंगलबार छाउगोठ मुक्त वस्ती घोषणा गरिएको हो ।

 


‘छाउगोठमुक्त हाम्रो सान, लैंगिक असमानता हटाउने हाम्रो अभियान, लैगिक हिंसा विरुद्ध शुन्य सहनशीलता कायम गरौं, छाउपडी प्रथा हटाउन हातेमालो गरौं’ भन्ने नाराका साथ जिल्लाको स्थानीय तहका पदाधिकारी, सामाजिक अगुवा, निगरानी समितिका सदस्यहरु तथा महिलाहरुको ऐक्यवद्धतामा माथितुम बस्तलाई छाउगोठमुक्त घोषणा गरिएको हो । माथितुम मुगु जिल्लाको छाउगोठमुक्त दोश्रो वस्ती भएको छ ।
 

छाउगोठमुक्त घोषणा सभामा उपस्थित सबैले छाउगोठमुक्त वस्ती निर्माणका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् । महिनावारी भएको समयमा आफ्नो छोरीचेलीलाई छाउगोठमा नराख्ने र छाउगोठ राखेको पाइए कानुन बमोजिम जरीवाना तथा सजायको भागीदार हुने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

छाउपडी उन्मुलन निर्देशिका २०६४ ले छाउपडी प्रथामा संलग्न हुने र वाध्य वनाउनेलाई ३ महिना जेल ३ हजार रुपैंया जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिबद्धता पत्रमा भनिएको छ ‘नेपाल सरकारको छाउपडी उन्मुलन निर्देशिका २०६४ र २०७४ साल श्रावण २५ गते छाउपडी प्रथालाई पहिलो पटक फौंजदारी अपराधको संज्ञा सहित मुलुकी अपराध संहिता ऐन २०७४ पारित भएको र उक्त ऐनले छाउपडी प्रथामा संलग्न हुने र वाध्य वनाउनेलाई ३ महिना जेल ३ हजार रुपैंया जरिवाना वा दुवै सजाय हुने व्यवस्था तोकिए वमोजिम प्रभावकारी कार्यान्वयनलाई फलोअप गर्दै नगरपालिकाका अन्यत्र वडाहरुमा जिल्ला स्थित स्थानीय निकाय, सरोकार निकाय, धार्मिक नेता, छाउगोठमुक्त गर्ने प्रतिवद्धता जाहेर गर्दछौं’

छाउपडी प्रथा विरुद्ध स्थानीय तह, सरोकारवाला निकाय र धार्मिक नेता, निगरानी समितिका सदस्यहरुलाई सक्रियताका साथ लागि पर्न विशेष अथिति एवं पूर्व शिक्षा राज्यमन्त्री हस्त वहादुर मल्लले आग्रह गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार