काठमाडौ : नेपालमा मासिक रुपमा झण्डै १ करोड किशोरी तथा महिलाहरु महिनावारी हुने गरेको अध्ययनले देखाएको छ । २०११ को जनगणनाले झण्डै तीन करोड जनसंख्या मध्ये ५१ प्रतिशत महिला रहेको र ती मध्ये ९ देखि ५० बर्ष सम्मका ९३ लाख महिलामा महिनावारी हुने गरेको देखाएको हो ।
नेपालमा महिनावारी स्वच्छता व्यवस्थापनको अवस्थाबारे संक्षिप्त जानकारी गराउदै युनिसेफका खानेपानी, सरसफाइ र स्वच्छता विशेषज्ञ सिद्धि श्रेष्ठले भूगोल तथा जातिगत आधारमा पनि महिनावारी भएको समयमा महिलाले विभिन्न खाले छुवाछुत खेप्नुपरेको बताउनुभयो ।

वाटर एडले २००९ तथा २०१५ र USAID र NFCC ले २०१५ मा गरेको अध्ययन अनुसार अधिकांश किशोरीहरुले महिनावारीको समयमा आफ्नो आमाबाट जानकारी, परामर्श तथा सहायता लिने गरेको देखाएको छ ।
रगत चुहिने डरले पूरै दिन गयल
युनिसेफको सन् २०१६ मा गरेको एक अध्ययन ले खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा भएको विद्यालयका १५ प्रतिशत किशोरीहरुले पूरै दिन स्कुल छुटाउने गरेको देखाएको छ । यस्तै वास सुविधा नभएका विद्यालयका २२ प्रतिशत किशोरीहरु महिनावारीको समयमा स्कुल गयल हुने गरेको युनिसेफका खानेपानी, सरसफाइ र स्वच्छता विशेषज्ञ श्रेष्ठले बताउनुभयो । ‘महिनावारीको समयमा हुने दुखाई, रगत चुहिने डर र सेनेटरी प्याड वा कपडा फेर्नुपर्ने आवश्यकताका कारण महिनावारीको समयमा विद्यालयमा नजाने गरेको भेटिएको छ’ उहाँले भन्नुभयो ।
५३ प्रतिशत किशोरीले स्कुलमै प्याड फेर्छन्
युनिसेफको अर्को अध्ययनले ५३ प्रतिशत किशोरीले स्कुलमै प्याड वा कपडा फेर्ने गरेको देखाएको छ । सन् २०१३ मा युनिसेफले गरेको अध्ययनले यस्तो देखाएको वास विशेषज्ञ श्रेष्ठले बताउनुभयो । उहाँका अनुुसार रगतको दाग बस्ने डरले किशोरीहरुले महिनावारीको समयमा विद्यालयको शौचालय प्रयोग गर्न हिच्किचाउने गरेको भेटिएको छ ।


808 पटक हेरिएको 

