आज महिनावारी स्वच्छता दिवस, सरकारको अगुवाईमा पहिलो पटक मनाईदै

काठमाडौ : आज अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालमा पहिलो पटक सरकारको अगुवाईमा यो दिवस भव्यताका साथ मनाउँदैछ । आज राष्ट्रिय सभा गृहमा हुने विशेष कार्यक्रमको संघीय संसदका सभामुख कृष्णबहादुर महराले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्या भण्डारीलाई महिनावारी स्वच्छता दिवको प्रमुख अतिथि बनाउने कार्यक्रम रहेपनि आजै गणतन्त्र दिवस समेत परेको हुनाले राष्ट्रपतिको समय उपलब्ध नहुँदा सभामुखलाई प्रमुख अतिथि बनाएको महिनावारी स्वच्छता दिवस मूल आयोजक समितिले जनाएको छ ।

फोटो : Google बाट ।

नेपालमा सन् २०१४ मा पहिलो पटक महिनावारी स्वच्छता दिवस मनाएको थियो । यो पाँचौ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस हो । सन् २०१४ को मे २८ देखि WASH United जर्मनीको आव्हानमा महिनावारी स्वच्छताको प्रबद्र्धन तथा महिनावारी सम्बन्धीका कुसंस्कार हटाउन चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाउदै आएको छ ।

प्रजनन् उमेर भरि महिलाहरुमा सामान्यतयः पाँच दिन सम्म रक्तश्राव हुने मान्यतालाई अंग्रेजी महिनाको पाँचौं महिनाले प्रतिनिधित्व गर्ने गरी मे महिना र हरेक २८ दिनमा यो चक्र दोहोरिने भएकाले मे २८ मा यो दिवस मनाउन थालेको WSSCC जेनेभाका नेपाल प्रतिनिधी गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।

दिउँसो साढे १ बजेदेखि राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा महिला सांसद, काठमाडौ उपत्यका भित्रका महिला नगरप्रमुख तथा उपप्रमुख सहभागी हुनुहुनेछ ।

यस्तै प्रदेश नं. ७ बाट १५ जना महिला प्रदेश सांसद र कर्णाली प्रदेशबाट पनि केही सांसद एवं विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका गरी झण्डै ५ सय जनाको सहभागिता रहने मूल आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा उपस्थितिका लागि मूल आयोजक समितिका संयोजक एवं खानेपानी मन्त्रालयका सह सचिव अनिल भद्र खनालले आग्रह गर्नुभयो ।

कार्यक्रम स्थल भन्दा बाहिर महिनावारी स्वच्छता सँग सम्बन्धित १० वटा स्टल समेत राखिने छ । कार्यक्रमको सञ्चालन भने पूर्व मिस नेपाल माल्भिका सुब्बाले गर्नुहुनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार