काठमाडौ : महिनावारी स्वच्छता सम्बन्धी धारणामा आएको परिवर्तन र महिलाको क्रय शक्तिमा बृद्धि भएसँग स्यानेटरी प्याडको बजार पनि बढ्न थालेको छ । हरेक बर्ष झण्डै ८ प्रतिशतको दरले स्यानेटरी प्याडको बजार फैलिदै गएको अध्ययनले देखाएको छ ।
PSI Nepal ले सन् २०१६ सेप्टेम्बर देखि सन् २०१७ को अगष्ट सम्म गरेको अध्ययनले हरेक प्रजनन उमेरका महिलाले बार्षिक १४४ वटा स्यानेटरी प्याड प्रयोग गर्नुपर्ने देखिए पनि औसतमा ९ वटा प्याड मात्र प्रयोग गरेको देखिएको छ ।
नेपालमा बार्षिक खपत हुने प्याडको ४८.५ प्रतिशत बजार मध्यामन्चलले ओगटेको र जसको १५ प्रतिशत हिस्सा काठमाडौ भक्तपुर ललितपुरमा मात्र खपत हुने गरेको अध्ययनले देखाएको छ । अध्ययन अनुसार मध्यमाञ्चलका एक जना महिलाले सालाखाला बार्षिक ९ वटा प्याड प्रयोग गर्छन् ।
PSI Nepal ले एक बर्ष लगाएर गरेको बजार रेखाङकन सम्बनधी अध्ययनले नेपालमा बार्षिक ९ करोड १० लाख स्यानेटरी प्याडको विक्री वितरण भएको देखिएको छ ।
जनगणना २०११ को तथ्यांक अनुसार मध्यमाञ्चलमा ४८ लाख १५ हजार ३ सय ६१ महिलाको बसोबास रहेको छ ।
मध्यपश्चिमान्चल र सुदुरपश्चिमान्चलमा सबैभन्दा कम खपत
अध्ययनले मध्यपश्चिमान्चल र सुदुरपश्चिमान्चलमा स्यानेटरी प्याडको सबैभन्दा कम खपत भएको देखिएको छ । मध्यपश्चिमान्चल र सुदुरपश्चिमान्चलले १६.५ प्रतिशत बजार ओगटेको छ र त्यहाँका महिलाले बार्षिक ४.७ वटा मात्र प्याड प्रयोग गर्छन् ।
जनगणना २०११ को तथ्यांक अनुसार मध्यपश्चिमान्चल र सुदुरपश्चिमान्चलमा ३१ लाख ७४ हजार ८ सय ६२ महिला बसोबास गर्छन् ।
पूर्वाञ्चलमा बार्षिक औसत ६ वटा प्याड
नेपालमा खपत हुने कुल स्यानेटरी प्याडको १७ प्रतिशत बजार पूर्वाञ्चल विकास क्षेत्रले ओगटेको छ । त्यहाँका महिलाले बार्षिक औसत ६ वटा प्याड प्रयोग गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्तै पश्चिमान्चल विकास क्षेत्रमा १८ प्रतिशत प्याडको विक्री वितरण हुन्छ ।
पश्चिमान्चल विकास क्षेत्रमा २६ लाख ३४ हजार १ सय ६८ जना महिलाको बसोबास रहेको छ ।
प्रजनन् क्षमता भएका महिलाको जनसंख्याको आधारमा नेपालमा बार्षिक १५ करोड थान सेनेटरी प्याडको आवश्यकता हुने बजार प्रक्षेपण गरिएको छ ।


1361 पटक हेरिएको 

