डोटी : महिनावारी भएको बेला घरमै बस्ने डोटीको भुमीराज माविका छात्राहरू अहिले स्कुल जान थालेका छन् । महिनावारी भएको बेला विद्यालय छुटाउदै आएका छात्रालाई छाउपडी प्रथाको गलत धारणा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेपछि छात्राहरू विद्यालय आउन थालेको प्रधानाध्यापक जगतबहादुर बलायरले बताउनु भयो । ‘पहिले महिनावारी हुँदा विद्यालयमा सरस्वतीको बास हुन्छ भन्दै विद्यालयको आँगन समेत नटेक्ने छात्राहरू हिजोआज विद्यालय आउने गरेका छन, छात्राहरु नियमित कक्षामा उपस्थित भएपछि पढाइ पनि सुध्रिने अपेक्षा गरेका छौं’ प्रधानाध्यापक बलायरले भन्नुभयो ।
विद्यालयलाई सरस्वतीको मन्दिर भन्दै महिनाबारी भएको समयमा भुमीराज माविका छात्राहरू मात्र नभई डोटीका धेरैजसो विद्यालयका छात्राहरू विद्यालय जान डराउँथे तर अहिले विभिन्न गैरसरकारी संस्थाले छाउपडी कुप्रथा हो भन्दै जनचेतना जगाएपछि महिनाबारी भएको समयमा पनि स्कुल जान थालेका छन् ।
स्कुलमै सेनेटरी प्याड वितरण
छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले नै सेनेटरी प्याड बितरण गर्न थालेको छ । छात्राको मनमा रहेको डर हटाउनुका साथै प्याड पनि दिएपछि छात्राको उपस्थिति नियमित हुन थालेको प्रधानाध्यापक बलायरले बताउनुभयो ।
‘हाम्रो विद्यालयले छात्राका लागि छुट्टै चर्पी बनाएको छ भने सेनेटरी प्याड फेर्ने ठाउँको पनि व्यवस्था मिलाएको छ, घरमा भन्दा स्कुलमा सहज हुने भएपछि किशोरीहरु स्कुलमै आउने गरेका छन्’ प्रधानाध्यापक बलायरले भन्नुभयो ।


854 पटक हेरिएको 


