सिनियर डिभिज्नल इञ्जिनियर प्रेम कृष्ण श्रेष्ठ, खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका प्रमुख हुनुहुन्छ । शाखा प्रमुखको हैसियतले वातावरणीय सरसफाइ सम्बन्धी नीति, कार्यनीति बनाउने, वातावरणीय सरसफाइ सम्बन्धी वार्षिक कार्यक्रम तथा बजेट तयारी गर्ने, खानेपानी योजनाहरु सञ्चालन गर्दा वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई कम गर्ने र वातावरण संरक्षणको लागि उपयुक्त प्रविधिको खोजी तथा विकास गर्ने लगायत थुप्रै काम सम्पादन गर्नुपर्छ ।
यसका अलावा देशभर चलिरहेको सरसफाइ अभियानको समन्वय, सहकार्य गर्ने काम पनि उहाँकै शाखाको हो । वातावरणीय सरसफाइ शाखाले राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयको रुपमा पनि काम गर्दै आएको छ ।
दुईबर्ष अघि उहाँले यो शाखा सम्हाल्दा ८०/८१ प्रतिशतमा रहेको देशको समग्र सरसफाइको प्रगति अहिले ९६ प्रतिशत पुगेको छ । यो अन्तराष्ट्रिय दाता, विकास साझेदार, सरकारी तथा गैरसरकारी संस्था सबैको सामूहिक प्रयासको परिणाम भएपनि यो सफलताको पछाडि उहाँको कुशल समन्वय, सहकार्य र जनशक्ति परिचालन पनि जोडिएको छ । देशभर चलिरहेको सरसफाइ अभियानको समन्वयकर्ता प्रेमकृष्ण श्रेष्ठलाई चिनौं ।
महाराजगञ्ज टाढा हुनाले बनेका इञ्जिनियर
प्राचीन शहर भक्तपुरमा जन्मिएका श्रेष्ठले स्कुल पढ्दा बायोलोजी विषय लिएर पढ्नुभएको थियो । शिक्षकहरुले बायोलोजी विषय लिएर पढे डाक्टर बन्न सक्छ भनेपछि डाक्टर बन्ने अभिलाषाले उहाँले बायोलोजी विषय रोज्नुभएको थियो ।
बायोलोजीमा राम्रै अंक ल्याएर एस.एल.सी. पास गरेका श्रेष्ठले जब प्रवीणता प्रमाणपत्र तहको पढाईलाई अगाडि बढाउने बेला आयो, महाराजगञ्ज अर्थात त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टाढा भईदिंदा डाक्टर बन्ने सपनामै धक्का लाग्यो । त्यो बेला हेल्थ एसिस्टेन्टको पढाई नेपालमा भए पनि एमवीबीएस्का लागि बाहिरै जानुपथ्र्यो ।
डाक्टर बन्ने सपना त अधुरै हुने भो अब के पढ्ने होला भनेर सोच्दै गर्दा एक दिन राजेन्द्र भन्ने साथीले नयाँ खबर सुनाए । ‘पुल्चोक क्याम्पसमा ओभरसियर पढ्न जाऔं’ यो कुरा सुनेर उहाँ एकछिन जिल्ला पर्नुभयो । किनकि उहाँले ओभरसियर भन्ने शब्द नै पहिलो पटक सुन्दै हुनुहुन्थ्यो । ‘यो पढेर के हुन्छ त ?’ ती साथीले भने ‘खुरुखुरु नक्सा कोर्ने अनि पैसा कमाउने हो ।’
यो कुराले उहाँलाई निक्कै लोभ्यायो । अनि पुल्चोकमा ओभरसियर पढ्न जान तयार हुनुभयो ।
२०३५ साल । ओभरसियर पढ्न पुल्चोक इञ्जिनियरिङ अध्ययन संस्थानमा भर्ना त भयो तर शुरु शुरुका दिनमा साह्रै मिहेनत गर्नुप–यो । पहिले क्याल्कुलस, साइनठिटा, कसठिटा जस्ता शब्दपदहरु हरुलाई जिस्काउने विषय मात्र थियो । तर क्याम्पसमा त्यही कुरा अध्ययन गर्नुपर्दा उहाँलाई शुरु शुरुमा ज्वरो नै आएको थियो ।
कहिलेकाहीं त छोडेर जाउँ कि भन्ने झोंक पनि चल्थ्यो रे, तर क्याम्पसका प्राध्यापकहरुले सक्छौं भनेर ढाडस दिएपछि मनमा सकिन्छ भन्ने आत्मविश्वास पलाउँथ्यो । गाह्रो के कुराले हुन्थ्यो त ? श्रेष्ठ भन्नुहुन्छ ‘दुईवटा कुरा, एउटा चाहिं सरकारी स्कुलमा पढेको, अंग्रेजीमा लेख्न सक्ने तर बताउन नसक्ने थियौं हामी । अर्को त त्यसअघि पढ्दै नपढेको विषय भयो । त्यसै पनि गाह्रो त भइहाल्यो नि !’
स्वदेशी उत्पादन
ओभरसियर कोर्स पूरा गरेपछि पुल्चोक क्याम्पसबाट बिई पढ्न धेरै जना रसिया गए । तर घरको जेठो छोरो भएकाले उहाँलाई बुबा आमाले काठमाडौ उपत्यका जाने स्वीकृति नै दिनु भएन । समान अंक प्राप्त गर्ने साथीहरु रसिया उडे तर उहाँलाई भने बुबा आमाले आवेदन दिनै लगाउनु भएन । त्यसपछि उहाँले विई सिभिल पनि पुल्चोकबाटै पूरा गर्नुभयो । २०४५ सालमा पुल्चोकबाट विई पास गर्ने उहाँ पहिलो ब्याचको विद्यार्थी हुनुहुन्थ्यो ।
उहाँले स्नातकोत्तर पनि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाटै गर्नुभएको हो । ओभरसियर देखि सिभिल इञ्जिनियरिङमा स्नातकोत्तर पनि देशमै पूरा गरेको हुनाले उहाँ आफूलाई घरेलु उत्पादन भन्न रुचाउनुहुन्छ ।
‘मैले देश बाहिर गएर चाहिं विभिन्न तालिम तथा गोष्ठीहरुमा सहभागी भएको छु । अध्ययन चाहिं देशभित्रै पूरा गरेको हुनाले म घरेलु उत्पादन हो ।’ हाँस्दै उहाँले भन्नुभयो ।
सरसफाइ, चर्पी र प्रेम कृष्ण
२०४७ साल । यो नै प्रवेश विन्दु थियो, खानेपानी तथा ढल निकास विभागमा उहाँको । लोक सेवा आयोगमा उतीर्ण भएपछि नयाँ जोश जाँगर लिएर उहाँ पहिलो पटक खानेपानी तथा ढल निकास विभागमा प्रवेश गर्नुभएको थियो ।
उहाँको शुरुको पोष्टिङ धनकुटा थियो । ‘क्याम्पसमा अध्ययन गरेजस्तो सैद्धान्तिक ज्ञान र व्यवहारिक पाटो त फरक हुँदो रहेछ । सडक, पूल जस्ता पूर्वाधार बनाउने कुरा पढियो तर खानेपानीको संरचना निर्माणमा त्यो लागु नहुँदो रहेछ ।’ उहाँले यो यथार्थ खानेपानी विभागको इञ्जिनियर भएर काम गर्न थालेपछि मात्र थाहा पाउनुभयो ।

उहाँ भन्नुहुन्छ ‘कलेजले इन्जिनियरिङमा काम गर भनेर बाटो देखाएको हो, अरु काम चाहिं काम गर्दै सिक्दै, पूरा गर्दै जाने हो । मेरो त विश्वविद्यालय भनेकै खानेपानी तथा ढल निकास विभाग बन्यो । यो सापेक्षा हुन्छ समय क्रम अनुसार पहिलेका सिद्धान्तहरु पूराना हुँदै जान्छन् नयाँ कुराहरु आउँदै जान्छ, त्यसलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ ।’
२०४७ सालमा धनकुटाबाट जागीर आरम्भ गरेकै साल उहाँले खानेपानी र सरसफाइ सम्बन्धीको प्रशिक्षक प्रशिक्षण तालिम लिनुभयो । त्यत्तिबेला देखि नै सरसफाइलाई पनि खानेपानीसँगै लैजानुपर्छ भन्ने अवधारणा आइसकेको थियो । त्यत्तिबेलै समुदायमा तालिम दिने भनेर तालिम सेल बनाइन्थ्यो ।
पुल्चोक क्याम्पसमा विई पहिलो ब्याचका विद्यार्थी प्रेम कृष्ण, प्रशिक्षक प्रशिक्षण तालिमको पनि पहिलो ब्याचकै इञ्जिनियर हुनुहुन्थ्यो । सानै देखि नेवारी भाषामा अभ्यस्त उहाँलाई यो तालिमले नेपाली बोल्न मात्र बानी पारेन, समूहमा उभिएर आफ्नो कुरा प्रष्ट सँग प्रस्तुत गर्न पनि सक्षम बनायो ।
त्यसपछि उहाँले आफूलाई यही क्षेत्रमा ढाल्दै जानुभयो । खानेपानी उपभोक्तालाई दिइने तालिममा खानेपानी र सरसफाइकै कुरा हुन्थ्यो । श्रेष्ठ भन्नुहुन्छ ‘म प्रत्यक्ष अप्रत्यक्ष २०४८ सालतिर देखि नै चर्पी बनाउने अभियानमा संलग्न भएको हुँ । विभागको नीति अनुसार काम गर्दै गएँ । मलाई सरसफाइमा रुचि जाग्दै गयो, तालिमहरु दिदैं गएँ, आज पर्यन्त पनि विभिन्न तालिमहरु दिइरहेको हुन्छु ।’
घरमा चर्पी नभएर रोएको क्षण
शहरमै घर भएपनि उहाँले ओभरसियर अध्ययन गर्दाको समय सम्म घरमा चर्पी थिएन । भक्तपुरको विद्यालयमा भक्तपुरे मात्र हुने भएकाले खासै चर्पीको आवश्यकता महसुस नभएपनि पुल्चोक क्याम्पसमा पढ्न थालेपछि भने साँच्चिकै घरमा चर्पीको अभाव खड्किन थालेको थियो । देशको ७५ जिल्लाकै साथीहरु भेटघाट हुने क्याम्पसमा कहिलेकाहीं चर्पीको कुरा हुँदा उहाँको मन खिन्न भएर आउँथ्यो ।
‘चर्पी नहुँदा साह्रै पीडा हुन्थ्यो, घरमा चर्पी नभएर म रोएको छु । घर बाहिर चर्पी बनाउने ठाउँ पनि थिएन, अफ्ठ्यारो थियो । कहिले चर्पी बन्ला भन्ने लागेको थियो । तर ओभरसियर पढेको तेस्रो सेमेस्टर तिर मैले आफैले चर्पी बनाएँ । त्यत्तिबेला इटा पनि आफैले ओसारेर ज्यामी सँगै बसेर बनाएको चर्पीले जीवनमा ठूलो खुसी दिलाएको थियो । त्यो दिन सम्झिने हो भने मलाई अहिले पनि बहुत आनन्द आउँछ ।’ श्रेष्ठले चर्पी नहुँदाको पीडा एकैसासमा सुनाएर भ्याउनुभयो ।
त्यसपछि घर आसपासको छिमेकीले पनि चर्पी बनाए रे ! ‘श्रेष्ठ भन्नुहुन्छ ‘काँचो इटाको चर्पी बनाउन तीन दिन लागेको थियो । मैले ठूलो उत्साहका साथ बनाएको चर्पी देखेपछि छिमेकीले पनि बनाए । म यसरी बनाउनुपर्छ भनेर पनि देखाउँथें, घर पछाडि नै पोखरीमा दिसा गर्नेहरु थिए । त्यसको दुर्गन्ध झ्याल नै खोल्न नहुने गरी आउँथ्यो । तर चर्पी बनाएर पनि दिसाको व्यवस्थापन गर्न चाहिं अरु पाँच सात बर्ष लाग्यो ।’
मध्यपश्चिम तताउँदा
सरसफाइ गुरुयोजना २०६८ लागु भएको शुरुवाती दिनहरुमा उहाँले मध्यपश्चिमका जिल्लाहरुमा रहेर सरसफाइ सम्बन्धी चेतना जगाउन धेरै ठूलो भूमिका निर्वाह गर्नुभयो । खानेपानी विभागमा इञ्जिनियर भएर प्रवेश गरेपछिको जागीरे जीवनमा उहाँले धनकुटा, पर्वत, भोजपुर, महोत्तरी, काभ्रे, दोलखा, नवलपरासी, सुर्खेत र काठमाडौ सहित ११ जिल्लामा विभिन्न भूमिकामा सेवा गर्नुभयो ।
तर अहिलेसम्म सबैभन्दा धेरै मध्यपश्चिमको सरसफाइ सुधारकै लागि बढी क्रियाशील हुनुभयो ।
त्यत्तिबेलाका क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका निर्देशक अवध किशोर मिश्रको नेतृत्वमा मध्यपश्चिममा २१ प्रतिशतमा सीमित रहेको सरसफाइको ग्राफलाई निक्कै उचाईमा पु¥याउनुभयो । त्यसमा सिनियर डिभिज्नल इञ्जिनियर प्रेमकृष्ण श्रेष्ठको पनि ठूलो भूमिका थियो ।
सबैभन्दा ठूलो आत्मिक सन्तुष्टि
सरसफाइ गुरुयोजना लागु हुँदा २०६८ सालमा देशको समग्र सरसफाइको स्थिति ४१ प्रतिशतमा सीमित थियो । अहिले सबै डोनर एजेन्सी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विभिन्न तहका पदाधिकारी र ग्रामीण तहका संघसंस्थाको सक्रियताले ९६ प्रतिशत घरपरिवारमा सरसफाइ सुविधा पुगेको छ ।
सरसफाइ क्षेत्र मात्र यस्तो क्षेत्र हो, जहाँ सरोकारवाला निकाय सबै नजिकको सम्बन्ध स्थापित गरी सा –सानो काम समेत आपसी सल्लाह र समन्वयमा गर्छन् । दुई बर्ष अघि उहाँले वातावरणीय सरसफाइ शाखा सम्हाल्दा जुन अभ्यास थियो, यसलाई उहाँले कुशलता पूर्वक निर्वाह गरिरहनुभएको छ । जसले गर्दा देशभरिको सरसफाइ अभियान एउटा गतिमा निरन्तर हिडिरहेको छ …हिडिरहनेछ ….।
हुन त देशले सन् २०१७ भित्रै सबैको घरमा चर्पी बनाउने लक्ष्य राखेको थियो । तर चर्पी बनाउने काम चेतनासँग पनि जोडिएको कुरा भएकाले लक्ष्य नजिक पुगेपनि देशले राखेको लक्ष्य भने पूरा हुन सकेन ।
यसमा केही खिन्नता देखिएका श्रेष्ठका लागि सन्तुष्ट हुने आधारहरु पनि प्रशस्त छन् । ‘२०६८ सालमा ४१÷४२ प्रतिशतबाट शुरुवात गरेको सरसफाइको आंकडा अहिले ९६ प्रतिशतमा पुगेको छ । तथ्याङ्क भन्दा तथ्यलाई हेरौं, बाटैभरि दिसा हुने ठाउँमा अहिले त्यस्तो देखिदैन, चर्पी छ ? भनेर सोध्दा, पछि बनाउँला नि ? किन चाहियो र खोला छ बारी छँदैछ भन्नेहरुको आवाज आज मत्थर भएको छ । चर्पी नबनाएकै मान्छे रहेछ भनेपनि उसले हिजो जस्तो छाती फुकाएर भन्न सक्दैनन्, डराई डराई सानो स्वरमा भन्छन् ‘चर्पी अब बनाउनुपर्छ ।’ यही हो प्रेमकृष्णका लागि, त्यो जिम्मेवारीमा बसेर कार्य सम्पादन गर्दा सन्तुष्ट हुने आधार ।
वातावरणीय सरसफाइ शाखाको प्रमुख भएर तालिमको शीलशीलामा श्रीलंका, स्वीडेन, नेदरल्याण्ड, भारत जानु बाहेक ओहोदाको अरु फाइदा लिनुभएको छैन उहाँले । सरल जीवन, शान्त स्वभाव, मिजासिला गुण उहाँका विशेषता हुन् ।
‘रिसाएर, झगडा गरेर, नमीठो बोलेर, अरुको दिल दुखाएर पाउनु के नै पो छ र ? अब सेवा निवृत्त हुने समय पनि आइसकेको छ, बाँकी समय पनि यसै गरी विताउने हो । ’ ..हा हा हा हा हा …लामो हाँसो


1363 पटक हेरिएको 

