नमिता बस्नेत काफ्ले
बालबालिका भबिष्यका कर्णाधार मात्रै होइनन् बर्तमान्का साझेदार पनि हुन् भन्ने कुरालाई मुलमन्त्र मान्दै झापा जिल्ला खुल्ला दिसामुक्त अभियानले अभियान सञ्चालन भएका सबै ठाउँमा बालबालिका र बिधार्थीलाई अभियानको प्रमुख पात्र मानेर अभियानलाई गति दियो ।
राष्ट्रिय सरसफाइ गुरुयोजना सार्वजनिक हुनुअघि कहिले ‘विद्यालयको अगुवाइ’ त कहिले ‘समुदायको अगुवाइ’ मा सरसफाइ अभियान अघि बढाउने पद्धति थियो । गुरुयोजनाले सबै साझेदारलाई एक ठाउँमा ल्याउन मार्ग प्रशस्त ग-यो र ‘स्थानीय अगुवाइमा पूर्ण सरसफाइ पद्धति’ लाई बढावा दियो ।
स्थानीयको अगुवाइमा पूर्ण सरसफाइ पद्धति (Local Led Total Sanitation) मा समुदायका साथसाथै त्यहाँ रहेका संघसंस्था र निकायहरुको समेत उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । झापा जिल्ला खुल्ला दिसामुक्त अभियानमा एकातर्फ जनप्रतिनिधि, अर्कोतर्फ अभियान सहजकर्ता र अर्कोतर्फ संस्थागत सरसफाइ र समुदाय जागरणका क्रियाकलापमा विद्यालय क्षेत्रले महत्वपूर्ण भूमिका निभाएको छ ।
जागरणमा जोड
विद्यालय तहका बाल क्लबहरुको पुनर्गठन र अभिमुखीकरणसँगै उनीहरुले थालनीमा विद्यालय भित्रको सरसफाइमा जोड दिए । तत्पश्चात्, विद्यार्थीको पहलमा आफ्ना अभिभावकहरुलाई चर्पी बनाउन अनुरोध गर्नुका साथै विद्यालय तहमा जागरणमूलक क्रियाकलाप सञ्चालन भए ।
यस क्रममा उनीहरुले जागरणमूलक -याली गर्ने, चर्पी नहुने अभिभावकहरुलाई चर्पी बनाउन अनुरोधपत्र दिने, घरमा रहेका असुरक्षित चर्पीहरु भत्काइदिने लगायतका क्रियाकलाप गरे । आफ्नो घरमा चर्पी नबनाई खुल्ला स्थानमा दिसा गर्ने सामाजिक अगुवा, अभिभावक र कतिपय शिक्षक कर्मचारीलाई पनि विद्यार्थीको यस कदमले झड्का दियो ।
विद्यार्थीहरुको सक्रियताका कारण विद्यालय सेवा क्षेत्रभित्र पनि, विद्यालयको वरपर छिटो चर्पी बनेको स्थानीय सरोकारवालाहरु समेत बताउनुहुन्छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह विद्यालय वरिपरी र समुदायमा समेत सरसफाइ प्रवद्र्धन र घरायसी चर्पी निर्माणमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ
खुला दिसामुत्त अभियानमा बिभिन्न ठाउँमा रहेका बाल क्लबमा रहेका बालबालिकाहरुले झापा कहिले नदेखिएका अनौठा र सिर्जनशील क्रियाकलापहरु गरेर सबैलाई चकित नै बनाए । राष्ट्रिय तथा स्थानीय दैनिक पत्रपत्रिकामा दैनिकजसो खुला दिसामुत्त अभियानमा बालबालिकाहरुले गरेका अनौठा तर सिर्जनशील प्रयोगहरुका बिषयबस्तु बनाएर समाचारहरु छापिनै रहे ।
प्रत्येकजसो गाउँपालिका र नगरपालिकामा शौचालय निर्माण गर्न विद्यार्थीले दैनिकजसो अभियान नै संचालन गरेका थिए ।
विद्यार्थीले खाली चिठीपत्र दिने र नारा लगाउने काममात्र गरेनन् । जिल्लाको टोली झापा गाउँपालिका पुगेको बेला सिडियोलाई साक्षी राखेर बाल क्लबका सचिवले आफ्ना बाबुसँग चर्पी भीक्षा मागे । यसलाई सञ्चार क्षेत्रले राम्रो कभरेज दियो । यस क्रियाकलापले धेरै अभिभावकलाई सोच्न वाध्य बनायो ।
चर्पी नहुने घरधुरीमा चर्पी बनाउन अनुरोधपत्र दिंदैगर्दा विद्यार्थीहरु आफ्नै विद्यालयका पूर्व प्रधानाध्यापकको घरमा समेत पुगे । उनीहरुले आफूलाई पढाएको र ज्ञान दिएकोमा धन्यवाद दिए । सँगसँगै आफ्नो घरमा चर्पी बनाएर गाउँलाई सफा राख्न अनुरोध समेत गरे ।
तीहारमा देउसी भैलो खेल्दा चर्पीकै भीक्षा मागे । होलीमा अवीर लगाउँदा समेत चर्पी बनाउन नै अनुरोध गरे । चर्पी बनाइसकेकालाई बधाइ दिए ।
लुप्त आवाज सुनाउने प्रयास
महिनावारी सरसफाइ र सुविधाको सवाल समुदाय र विद्यालयमा त्यति चर्चा हुने विषय होइन, झापाका सन्दर्भमा । खुल्ला दिसामुक्त एवम् पूर्ण सरसफाइ अभियानअन्तर्गत किशोरीहरुले महिनावारीका विभिन्न पक्षको बारेमा छलफल र अन्तरक्रिया गरे, महिनावारी सरसफाइ सरोकार समूह गठन गरे । यतिमा मात्र उनीहरु सीमित भएनन् ।
ज्ञापनपत्र तयार गरे र विद्यालयमा बुझाए, महिनावारीमैत्री सरसफाइ सुविधाको व्यवस्थाका लागि । उपयुक्त सरसफाइ सुविधा नभएको विद्यालय ‘यातनागृह’ जस्तै भएको उनीहरुको भनाइले स्थानीय नेतृत्व र अन्य सरोकारवालाहरुलाई ‘सोच्न’ वाध्य बनायो । विद्यालयहरुले बन्द भएका शौचालय मर्मतसम्भार गरे, नयाँ शौचालय बनाउने प्रक्रिया अघि बढाए ।
साँझ विहान हुने प्रार्थनाको समयमा समेत उनीहरुले सरसफाइका सवाललाई उठाउन छुटाएनन् । साविक गौरीगञ्ज स्थित ज्ञानोदय बोर्डिङ स्कूलले खुला दिसामुक्त अभियानभरि नै सरसफाइको बिषयलाई महत्व दिँदै प्रार्थना लाइनमा प्रत्येक दिन एउटा न एउटा विद्यार्थीलाई सरसफाइको बिषयमा निबन्ध प्रस्तुत गर्न लगाउने र छलफल समेत गराउने नौलो अभ्यास गरेको थियो । यसले विद्यालयभित्र र समुदायमा समेत सरसफाइलाई साझा सवालको रुपमा स्थापित गर्न सहयोग पुग्यो ।
अबको बाटो
विद्यार्थी समुदाय रुपान्तरणका साझेदार हुन् । विद्यालयभित्र सरसफाइ कायम राख्न त विद्यार्थीको भूमिका रहन्छ नै । विद्यालयलाई सरसफाइ नमूना स्थलको रुपमा विकास गर्नु पनि विद्यालय परिवारको दायित्व हो।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि जारी भैसकेको छ । अब, विद्यालय तहमा आधारभूत खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा त हुनुपर्छ नै, त्यसलाई बढाउँदै लैजानका लागि सरसफाइमा तारे पद्धति समेत लागू भएको छ ।
विद्यालयस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्नुका साथै विद्यालयस्तरीय पूर्ण सरसफाइ योजना निर्माण गरी कार्यान्वयन लैजानु आवश्यक छ । झापा जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको छ । अब स्थानीय तहले पूर्ण सरसफाइ रणनीतिक योजना तयार गरेर कार्यान्वयन गर्ने क्रममा छन्।
यससँगै विद्यालयहरुले समेत सरसफाइ रणनीतिक योजना तयार गरी स्थानीय तहसँगको समन्वयमा कार्यान्वयनमा ल्याउनु अपरिहार्य छ । यसका लागि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र जिल्ला शिक्षा इकाइले स्थानीय तह र विद्यालयलाई पूर्ण सरसफाइ यात्रामा लाग्नका लागि मार्गनिर्देश गर्नुपर्ने आवश्यकता छ ।


1954 पटक हेरिएको 

