खुला दिसामुक्त अभियानमा विद्यार्थीको भूमिका


नमिता बस्नेत काफ्ले

बालबालिका भबिष्यका कर्णाधार मात्रै होइनन् बर्तमान्का साझेदार पनि हुन् भन्ने कुरालाई मुलमन्त्र मान्दै झापा जिल्ला खुल्ला दिसामुक्त अभियानले अभियान सञ्चालन भएका सबै ठाउँमा बालबालिका र बिधार्थीलाई अभियानको प्रमुख पात्र मानेर अभियानलाई गति दियो ।


राष्ट्रिय सरसफाइ गुरुयोजना सार्वजनिक हुनुअघि कहिले ‘विद्यालयको अगुवाइ’ त कहिले ‘समुदायको अगुवाइ’ मा सरसफाइ अभियान अघि बढाउने पद्धति थियो । गुरुयोजनाले सबै साझेदारलाई एक ठाउँमा ल्याउन मार्ग प्रशस्त ग-यो र ‘स्थानीय अगुवाइमा पूर्ण सरसफाइ पद्धति’ लाई बढावा दियो ।


स्थानीयको अगुवाइमा पूर्ण सरसफाइ पद्धति (Local Led Total Sanitation) मा समुदायका साथसाथै त्यहाँ रहेका संघसंस्था र निकायहरुको समेत उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । झापा जिल्ला खुल्ला दिसामुक्त अभियानमा एकातर्फ जनप्रतिनिधि, अर्कोतर्फ अभियान सहजकर्ता र अर्कोतर्फ संस्थागत सरसफाइ र समुदाय जागरणका क्रियाकलापमा विद्यालय क्षेत्रले महत्वपूर्ण भूमिका निभाएको छ ।


जागरणमा जोड


विद्यालय तहका बाल क्लबहरुको पुनर्गठन र अभिमुखीकरणसँगै उनीहरुले थालनीमा विद्यालय भित्रको सरसफाइमा जोड दिए । तत्पश्चात्, विद्यार्थीको पहलमा आफ्ना अभिभावकहरुलाई चर्पी बनाउन अनुरोध गर्नुका साथै विद्यालय तहमा जागरणमूलक क्रियाकलाप सञ्चालन भए ।


यस क्रममा उनीहरुले जागरणमूलक -याली गर्ने, चर्पी नहुने अभिभावकहरुलाई चर्पी बनाउन अनुरोधपत्र दिने, घरमा रहेका असुरक्षित चर्पीहरु भत्काइदिने लगायतका क्रियाकलाप गरे । आफ्नो घरमा चर्पी नबनाई खुल्ला स्थानमा दिसा गर्ने सामाजिक अगुवा, अभिभावक र कतिपय शिक्षक कर्मचारीलाई पनि विद्यार्थीको यस कदमले झड्का दियो ।


विद्यार्थीहरुको सक्रियताका कारण विद्यालय सेवा क्षेत्रभित्र पनि, विद्यालयको वरपर छिटो चर्पी बनेको स्थानीय सरोकारवालाहरु समेत बताउनुहुन्छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह विद्यालय वरिपरी र समुदायमा समेत सरसफाइ प्रवद्र्धन र घरायसी चर्पी निर्माणमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ


खुला दिसामुत्त अभियानमा बिभिन्न ठाउँमा रहेका बाल क्लबमा रहेका बालबालिकाहरुले झापा कहिले नदेखिएका अनौठा र सिर्जनशील क्रियाकलापहरु गरेर सबैलाई चकित नै बनाए । राष्ट्रिय तथा स्थानीय दैनिक पत्रपत्रिकामा दैनिकजसो खुला दिसामुत्त अभियानमा बालबालिकाहरुले गरेका अनौठा तर सिर्जनशील प्रयोगहरुका बिषयबस्तु बनाएर समाचारहरु छापिनै रहे ।
प्रत्येकजसो गाउँपालिका र नगरपालिकामा शौचालय निर्माण गर्न विद्यार्थीले दैनिकजसो अभियान नै संचालन गरेका थिए ।


विद्यार्थीले खाली चिठीपत्र दिने र नारा लगाउने काममात्र गरेनन् । जिल्लाको टोली झापा गाउँपालिका पुगेको बेला सिडियोलाई साक्षी राखेर बाल क्लबका सचिवले आफ्ना बाबुसँग चर्पी भीक्षा मागे । यसलाई सञ्चार क्षेत्रले राम्रो कभरेज दियो । यस क्रियाकलापले धेरै अभिभावकलाई सोच्न वाध्य बनायो ।


चर्पी नहुने घरधुरीमा चर्पी बनाउन अनुरोधपत्र दिंदैगर्दा विद्यार्थीहरु आफ्नै विद्यालयका पूर्व प्रधानाध्यापकको घरमा समेत पुगे । उनीहरुले आफूलाई पढाएको र ज्ञान दिएकोमा धन्यवाद दिए । सँगसँगै आफ्नो घरमा चर्पी बनाएर गाउँलाई सफा राख्न अनुरोध समेत गरे ।
तीहारमा देउसी भैलो खेल्दा चर्पीकै भीक्षा मागे । होलीमा अवीर लगाउँदा समेत चर्पी बनाउन नै अनुरोध गरे । चर्पी बनाइसकेकालाई बधाइ दिए ।


लुप्त आवाज सुनाउने प्रयास


महिनावारी सरसफाइ र सुविधाको सवाल समुदाय र विद्यालयमा त्यति चर्चा हुने विषय होइन, झापाका सन्दर्भमा । खुल्ला दिसामुक्त एवम् पूर्ण सरसफाइ अभियानअन्तर्गत किशोरीहरुले महिनावारीका विभिन्न पक्षको बारेमा छलफल र अन्तरक्रिया गरे, महिनावारी सरसफाइ सरोकार समूह गठन गरे । यतिमा मात्र उनीहरु सीमित भएनन् ।

ज्ञापनपत्र तयार गरे र विद्यालयमा बुझाए, महिनावारीमैत्री सरसफाइ सुविधाको व्यवस्थाका लागि । उपयुक्त सरसफाइ सुविधा नभएको विद्यालय ‘यातनागृह’ जस्तै भएको उनीहरुको भनाइले स्थानीय नेतृत्व र अन्य सरोकारवालाहरुलाई ‘सोच्न’ वाध्य बनायो । विद्यालयहरुले बन्द भएका शौचालय मर्मतसम्भार गरे, नयाँ शौचालय बनाउने प्रक्रिया अघि बढाए ।


साँझ विहान हुने प्रार्थनाको समयमा समेत उनीहरुले सरसफाइका सवाललाई उठाउन छुटाएनन् । साविक गौरीगञ्ज स्थित ज्ञानोदय बोर्डिङ स्कूलले खुला दिसामुक्त अभियानभरि नै सरसफाइको बिषयलाई महत्व दिँदै प्रार्थना लाइनमा प्रत्येक दिन एउटा न एउटा विद्यार्थीलाई सरसफाइको बिषयमा निबन्ध प्रस्तुत गर्न लगाउने र छलफल समेत गराउने नौलो अभ्यास गरेको थियो । यसले विद्यालयभित्र र समुदायमा समेत सरसफाइलाई साझा सवालको रुपमा स्थापित गर्न सहयोग पुग्यो ।


अबको बाटो


विद्यार्थी समुदाय रुपान्तरणका साझेदार हुन् । विद्यालयभित्र सरसफाइ कायम राख्न त विद्यार्थीको भूमिका रहन्छ नै । विद्यालयलाई सरसफाइ नमूना स्थलको रुपमा विकास गर्नु पनि विद्यालय परिवारको दायित्व हो।


विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि जारी भैसकेको छ । अब, विद्यालय तहमा आधारभूत खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा त हुनुपर्छ नै, त्यसलाई बढाउँदै लैजानका लागि सरसफाइमा तारे पद्धति समेत लागू भएको छ ।


विद्यालयस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्नुका साथै विद्यालयस्तरीय पूर्ण सरसफाइ योजना निर्माण गरी कार्यान्वयन लैजानु आवश्यक छ । झापा जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको छ । अब स्थानीय तहले पूर्ण सरसफाइ रणनीतिक योजना तयार गरेर कार्यान्वयन गर्ने क्रममा छन्।

यससँगै विद्यालयहरुले समेत सरसफाइ रणनीतिक योजना तयार गरी स्थानीय तहसँगको समन्वयमा कार्यान्वयनमा ल्याउनु अपरिहार्य छ । यसका लागि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र जिल्ला शिक्षा इकाइले स्थानीय तह र विद्यालयलाई पूर्ण सरसफाइ यात्रामा लाग्नका लागि मार्गनिर्देश गर्नुपर्ने आवश्यकता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार